Travel, Arts & Crafts, Nature

शिरमाथिको वनफूल

शाश्वत पराजुली

शिरमाथिको वनफूल पनि देउरालीमै झरिदियो
साँचेको यो मनफूल पनि नफक्रिँदै मरिदियो ।

सुसाउने सल्लाले नि गीत गाउन छोडेको छ
मेरो मनको नाइकेले बाटो अन्तै मोडेको छ
आकाशको जूनफुल पनि कुन्नि कता सरिदियो
साँचेको यो मनफूल पनि नफक्रिँदै मरिदियो ।

नजानिँदो गरी दुख्ने तीर मनमा गढेको छ
डँढेलोमा परी मनका सारा खुसी डढेको छ
श्रृङ्गारको सुनफूल पनि ओझेलमा परिदियो
साँचेको यो मनफूल पनि नफक्रिँदै मरिदियो ।

सानेपा,ललितपुर, २०५९ माघ २०