Food

धर्सो

शाश्वत पराजुली

धर्सो

कुनै मानिसको असी वर्षको ओठको मुस्कान, मनका उछ्वास अनि स्मृतिका पत्रहरू केवल पाँच डलरमा लिलाम हुन सक्छन् भन्ने कुरा मैले हेदरको हरियो चौरमा उभिएर मात्र थाहा पाएँ ।

मौसम जान्न हातमा कफी बोकेर मूलढोकाबाट यसो बाहिर निस्केको थिएँ, बाहिरको चिसोले जाडो दैलोमै आइसकेको सङ्केत गर्‍यो । रुखका नाङ्गा हाँगाहरू आकाशतिर फर्किएर कुनै मौन प्रार्थना गरिरहेझैँ देखिन्थे । कसोकसो आँखा हेदरको मूलढोकामा पर्‍यो । ढोकैनिर गत्तामा गाढा नीलो मसीले लेखिएको साइन थियो— ‘यार्ड सेल’ । मलाई केही किन्नु त थिएन, तर पनि मेरा पाइलाहरू अनायासै हेदरका चौरतिर मोडिए ।

हेदर अर्थात् सिन्सिनाटी, ओहायोको मेरी छिमेकी । एकासी वर्षीया रैथाने अमेरिकन । गत साता मात्र दुई दिन थलिएर उनी संसारबाटै बिदा भएकी थिइन् । शान्त, मिजासिली र सहयोगी स्वभावकी हेदरको अन्त्येष्टिका बेला मेरा पनि आँखा नरसाइरहन सकेनन् ।

एउटा सिङ्गो जीवनका अवशेषहरू चौरमा असरल्ल छरिएका थिए । पुराना भाँडाकुँडा, लेस बुनिएका टेबलक्लोथ, रङ उडेका तस्बिरका फ्रेमहरू, पुराना दूरबिन र क्यामेराहरू, केही थान गरगहना र लत्ताकपडा, थरीथरीका फर्निचर, सत्तरीको दशकका ‘नेसनल जियोग्राफिक’ पत्रिका र केही किताबहरू । कसैको जिन्दगीको अनमोल इतिहास आज मात्र केही डलरमा नयाँ मालिक पर्खिरहेको थियो ।

हेदरका नातिनातिना, जसले वर्षौंसम्म यो घरको बाटो बिराएका थिए, आज बडो व्यावसायिक बनेर प्रत्येक सामानको मूल्य तोक्दै यार्ड सेलमा आएका ग्राहकसँग मोलतोल गरिरहेका थिए । उनीहरूका लागि ती सामानहरू ठाउँ ओगट्ने कबाड मात्र थिए, जसलाई चाँडोभन्दा चाँडो पन्छाएर उनीहरू यो घर ‘रियल इस्टेट’ मा सूचीबद्ध गर्न चाहन्थे ।

म कफीको चुस्की लिँदै हेदरको चौरमा बेढङ्गले फिँजाइएका ती निर्जीव तर बोल्न खोजिरहेका सरसामानमा आँखा नचाइरहेको थिएँ । खल्तीमा फोन थर्थरायोे । हतार–हतार फोन निकाल्दा स्क्रिनमा चम्कियो— ‘आमा, भिडिओ कल’ ।

नेपालबाट आमाको फोन आउँदा जहिले पनि मभित्र एउटा अज्ञात डरले डेरा जमाउँथ्यो । मैले हतारिँदै हरियो बटन थिचेँ र चौरको एउटा कुनामा सरेँ, जहाँ हेदरको पुरानो गुलाबको बोट चिसोले कठ्याङ्ग्रिएर ठिङ्ग उभिएको थियो ।

इन्टरनेटको कमजोर गतिका कारण स्क्रिनका पिक्सेलहरू फुट्दै र जोडिँदै गरे । मानौँ, प्रविधिले मेरो र मेरो विगतको दूरीलाई एउटा चर्किएको ऐनाले जसरी टुक्रा–टुक्रामा देखाउँदै थियो । केही सेकेन्डपछि स्क्रिन सङ्लियो । उता घाम ढल्किँदै गरेको गोधूलि साँझ थियो । क्यामेराको लेन्स अलि माथि फर्किएकाले सुरुमा मैले आमाको चाउरिएको निधार, उनले कोरेको सेतो कपालको सिउँदो र पछाडिकोे घरको धुरीजस्तो मात्र देखेँ ।

“हेलो बाबु ! सुन्दै छस् ?” आमाको स्वर फोनको स्पिकरबाट अलि खस्रो र थाकेको जस्तो सुनियो ।

“सुन्दै छु आमा ! तपाईं कहाँ हुनुहुन्छ ? त्यहाँ पछाडि केको होहल्ला छ ? के भइरहेछ त्याँ ?” मैले चस्माको सिसा पुछेर एकै सासमा सोधेँ । मेरो आवाजमा सिन्सिनायटी, ओहायोको चिसो हावाभन्दा बढी एउटा चिसो डर मडारिरहेको थियो ।

ठ्याक्कै त्यही बेला, यता यार्ड सेलमा एउटी रैथाने महिलाले हेदरको त्यो पुरानो, खैरो रङको ‘रकिङ चेयर’ मात्र पाँच डलरमा किनेर आफ्नो पुरानो कारको डिकीमा जसोतसो कोची । त्यो त्यही कुर्सी थियो, जसमा बसेर हेदर दिनभरि आफ्ना हातका औँलाहरू फर्काउँदै, उनकै भाषामा ‘विगतका बुट्टाहरू’ बुन्ने गर्थिन्, घण्टौँ किताबमा भुल्थिन् र छोरा अनि नातिनातिनाको बाटो हेर्थिन् । हेदरका दैनिकीको लामो साक्षीको अन्त्य त्यसरी मात्र पाँच डलरमा भयो ।

उता फोनको स्क्रिनमा, आमाको फोनको क्यामेरा अलि तल सर्‍यो । आमा सिकुवाको गुन्द्रीमा बस्नुभएको थियो । उहाँको अनुहारमा साँझको मधुरो प्रकाश थियो, तर आँखा ओसिला देखिन्थे । उहाँको पछाडि हाम्रो त्यो विशाल आँगन थियो, जहाँ मेरो बाल्यकालका अनगिन्ती पाइलाका डोबहरू थिए । रातो माटो र गोबरले लिपिएको त्यो आँगन आज अनौठो र बिरानो लागिरहेको थियो । घरको मूलढोकाको देब्रे खोपामा काठको ठेकी थिएन, मकै सुली रित्तो थियो र ढोकाको सँघारमा पूजा गर्ने तामाको दियो थिएन ।

कम्मरमा खुकुरी र हातमा नाप्ने फित्ता, मानिसहरू पिँढीबाट बाको पुरानो सन्दुक र आमाको दाइजोमा आएको दराज आँगनमा निकालिरहेका थिए ।

यता यार्ड सेलमा दुई जना बलिया अश्वेत युवाहरू ओक काठले बनेको हेदरको गर्‍हुँङ्गो खाट उठाउँदै थिए । त्यो त्यही खाट थियो, जहाँ उनले आफ्ना सपनाहरू देखिन्, जहाँ उनका छोराछोरी जन्मिए र जहाँ उनले आफ्नो अन्तिम सास फेरिन् । उनीहरूले त्यो खाटलाई ‘युहल’को भाडाको ट्रकमा हुत्याए । एउटा मान्छेको अन्तिम विश्रामस्थल यसरी सडकमा घिसारिँदै गर्दा एउटा धातुको कर्कश आवाज सुनियो, जुन मेरो कानको जाली छेडेर भित्रैसम्म पुग्यो ।

“बाबु !” आमाले एउटा लामो सुस्केरा हाल्नुभयो । मलाई लाग्यो, त्यो सुस्केराको तातो बाफ हजारौँ माइलको प्रशान्त महासागर पार गरेर मेरो फोनको स्क्रिन हुँदै मेरो अनुहारसम्मै आइपुग्यो । “आज मालपोतमा गएर लालपुर्जा पास गरिदिएँ बाबु ! अब यो घर, यो आँगन हाम्रो रहेन ।”

मेरो हातको कफीको मग फुत्तै भुइँमा झर्‍यो । सायद आमाले पनि चाल पाएको हुनुपर्छ । मेरो हात र औँलाहरू अररा भए । घाँटीमा अचानक काँचो निबुवाको टुक्रा आएर अड्किएजस्तो, निल्नु न ओकल्नुझैँ भयो ।

“जेठाले पनि त्यही भन्यो बाबु,” आमाले फरियाको छेउले आँखाको डिलतिर पुछ्दै भन्नुभयो, “तँ सात समुद्रपारि छस्, फर्केर आउने ठेगान छैन । जेठा र बुहारी अनि नातिनातिना पनि सहरमै रमाएका छन् । यो गाउँको बूढो घर कुर्ने को छ र बाबु अब ? भत्किएर खण्डहर हुनुभन्दा किन्ने मान्छेले किन्छु भन्दा मैले नाइँ भनिनँ । आखिर म पनि त डाँडाको जून भइहालेँ क्यार !”

माथि आकाशमा गजधुम्म बादल तेर्सिए । मेरा मनमा पनि काला बादल मडारिए । आँखामा गाउँको घरआँगन झलझली नाच्न थाल्यो । घर दायाँपट्टिको निबुवाको बोट, जसको हाँगामा दाइ र म चढेर मच्चिन्थ्यौँ । असोजको महिनामा जब त्यसमा लटरम्मै भएर पहेँला निबुवाहरू फल्थे, बोटै अलिक नुहेको हुन्थ्योे । बा भन्नुहुन्थ्यो— ‘मुन्छे पनि तेसरी नै नुहेको जाती, घमन्डले कोही उँभो लागे पो !”

सबैभन्दा बढी मलाई सम्झना आयो, त्यो मुख्य ढोकाको चौकोसको । अग्राखको त्यो पुरानो चौकोस झन्डै आधा फुट चौडा हुँदो हो, जहाँ उभ्याएर बाले प्रत्येक दसैँको टीका लगाएपछि सिसाकलमले मेरो उचाइ नाप्नुहुन्थ्यो र एउटा सानो धर्सो तान्नुहुन्थ्यो । ‘यो साल बाबु दुई अंगुल बढेछ,’ बा मुस्कुराउँदै भन्नुहुन्थ्यो । ती सिसाकलमका धर्साहरू मेरो उचाइको नापो मात्र थिएनन्, ती त यो घरको इतिहासमा मेरो अस्तित्वका प्रमाण थिए । आज ती सिसाकलमका धर्साहरू कोही अपरिचितको हत्केलाबाट मेटिँदै थिए । घर किन्नेले पुरानो सबै भत्काएर त्यहाँ कङ्क्रिटको भित्ता ठड्याउने तयारी गर्दै थियो ।

यता यार्ड सेलमा, गोलो चस्मा लगाएको एउटा केटाले हेदरले वर्षौंसम्म सँगालेका, पाना पहेँलिएका किताब र पत्रपत्रिकाका दुई बाकस मात्र तीन डलरमा किन्यो । ती किताबका पानाहरूमा हेदरका औँलाका सयौँ डोब थिए होलान्, कुनै दुःखद हरफमा उनका आँसुका टाटाहरू सुकेका थिए होलान् । तर आज ती केवल रद्दी कागजको भाउमा बिक्री भए । इतिहासको लिलामी कति शान्तसँग तर कति क्रूर रूपमा हुन्छ !

आमाले फोनको क्यामेरा अलि घुमाउनुभयो । “हेर त बाबु, त्यो तुलसीको मठमा कति झार उम्रेछ,” आमाको स्वरमा एउटा गहिरो ग्लानि थियो । सुकिसकेको तुलसीको बोटको जरामा माटो थिएन, धमिराले खाएको खैरो धूलो मात्र बाँकी थियो । “तैँले रोपेको अम्बाको बोट त काटेर उधिनिसकेछन् नयाँ साहूले, त्यहाँ मोटर बस्ने ग्यारेज बनाउने रे !”

मेरा बाल्यकालका कथाहरू, मेरा विश्वासका जराहरू र मेरा बाआमा र दाजुका पदचापका स्मृतिहरू सबै एउटा कानुनी कागजको पाना, लालपुर्जाको दस्तखतसँगै नामेट हुँदै थिए ।

ठ्याक्कै त्यही पल, यता यार्ड सेलको कुनामा राखिएको सानो सिसाको बाकसबाट एउटी अपरिचित किशोरीले हेदरको बिहेको सुनको औँठी निकाली । जीवनभरिको प्रेम, समर्पण र वाचाको त्यो पवित्र निसानी, जसलाई हेदरले आफ्नो श्रीमान् बितेको बीस वर्षसम्म पनि औँलाबाट फुकालेकी थिइनन्, अब मात्र बीस डलरको ‘भिन्टेज ज्वेलरी’ बनेको थियो । त्यो किशोरीले औँठी आफ्नो हतारिएको औँलामा घुसाउँदै साथीलाई देखाएर मुस्कुराई र भनी— “कूल, इजन्ट इट ?”

मभित्र एउटा ऐना फुट्यो । त्यो ऐना, जसमा मैले अहिलेसम्म आफ्नो ‘सफल’ र ‘सम्भ्रान्त’ पहिचान देख्दै आएको थिएँ ।

मनमा अनेक ज्वारभाटा उठे । मैले एउटा लामो र चिसो सास तानेँ । मनको भारी अलिकति हलुङ्गो भयो । “ठिकै हो आमा,” आवाजलाई सकेसम्म सामान्य र तार्किक बनाउने प्रयास गरेँ, “कोही नबस्ने, ओत नलाग्ने घर राखेर पनि के गर्नु ? तपाईं पनि अब दाइभाउजूसँगै सहरमै बस्न थालिहाल्नुभो । गाउँमा बिरामी पर्दा उपचार गर्न अस्पताल पनि छैन । त्यहाँको जाडोले तपाईंका घुँडा झन् दुख्छन् । सहरमा सुविधाको कमी छैन ।”

मेरो मुखबाट खै कसरी हो, बडो व्यावहारिक सुनिने शब्दहरू बर्सिए । तर ती शब्दहरू मेरै कानमा खोक्रो र बनावटी सुनिए । यो त्यही व्यावहारिकता थियो, जसको ओढ्ने ओढेर मैले आफ्नो थातथलो छाडेको थिएँ ।

हामी यस्तै त भएका छौँ— नितान्त व्यावहारिक । सफलताको दौडमा हामीले आफ्नै जराहरू काटेर गमलामा सारिएका ‘बोनसाई’ बिरुवाजस्ता भएका छौँ । बाहिरबाट हेर्दा चिटिक्कका, पातहरू पनि बुट्टा कुँदिएका जस्ता । तर त्यही बोटका जरालाई टेक्ने र फैलने आफ्नै जमिन छैन । गमलाको थोरै कृत्रिम माटो र नियन्त्रित पानीमा हामी आफूलाई ‘अन्तर्राष्ट्रिय’ भन्दै सम्झौता गरिरहेका छौँ । हामीले डलरको कमाइ, क्रेडिट स्कोर र तीसवर्षे रिनमा किनेको ड्राई–वाल र काठको घरलाई सफलता मान्यौँ । वास्तविक माटो र गोबरको सुगन्ध आउने आँगन सदाका लागि गुमायौँ । यहाँको घरको भित्तामा कतै सिसाकलमले उचाइ नापेको धर्सो छैन, यहाँ त केवल भित्तामा झुन्ड्याइएका कृत्रिम चित्रहरू मात्र छन् र ती कहिल्यै जीवन्त लाग्दैनन् ।

ट्याक्टर स्टार्ट गरेको अनि गुडेको कर्कश आवाज फोनमा प्रस्टै सुनियो । यता भने मेरो सोचाइमा ब्रेक लाग्यो ।

अब हामी पनि जानुपर्छ ।” आमाले फरियाको सप्को मिलाउँदै भन्नुभयो । मैले मलिनु आवाजमा भनेँ, “आफ्नो ख्याल राख्नू, आमा । तपाईंहरू सुखी भए मलाई पुग्छ ।”

आमाले फोन काट्नुभयो ।

फोनको कालो स्क्रिनमा मैले आफ्नै अनुहारको प्रतिविम्ब देखेँ । त्यो अनुहारमा एउटा अज्ञात क्लान्ति थियो, एउटा पराजित सिपाहीको जस्तो शून्यता ।

म हेदरको चौरमा एक्लै उभिएको थिएँ । यार्ड सेल लगभग सकिसकेको थियो । मानिसहरू आ–आफ्ना गाडीमा अरूको जिन्दगीका टुक्राहरू लोड गरेर गइसकेका थिए ।

उनको घर रित्तो भएको थियो र हजारौँ माइल पर, मेरो पनि । पृथ्वीको दुई विपरीत कुनामा, दुईवटा इतिहासहरू आज एकैसाथ भत्किएका थिए । एउटा भौतिक रूपमा ढलेको थियो, अर्को कानुनी रूपमा मेटिएको थियो । मलाई अचानक महसुस भयो— घर भनेको इँटा, सिमेन्ट र काठ मात्र होइन रहेछ । घर त त्यो अदृश्य डोरी रहेछ जसले हामीलाई हाम्रो माटो, हाम्रो संस्कृति र हाम्रा पुर्खाहरूको स्मृतिसँग बाँधेर राख्छ । आज, मैले त्यो डोरी आफैँले काटेको थिएँ, निकै ‘व्यावहारिक’ र ‘आधुनिक’ भएर ।

म आफ्नो घरतिर बढेँ र म आफ्नो तीसवर्षे मोर्टगेजको घरको ढोका खोलेर भित्र पसेँ । घरभित्र सेन्ट्रल हिटिङको तातो हावा चलिरहेको थियो, तर मलाई एक तमासको जाडो लागिरहेको थियो ।

सात वर्षीया छोरी, रिया लिभिङ रुमको महँगो कार्पेटमा बसेर आइप्याडमा गेम खेलिरहेकी थिई । उसलाई आज हाम्रो एउटा ठूलो पुस्तैनी पहिचानको जग सधैँका लागि भत्किएको अत्तोपत्तो थिएन ।

म बिस्तारै उसको नजिक गएँ । मेरो गोजीमा एउटा ठुटो सिसाकलम थियो, जुन मैले अफिसबाट बिर्सेर ल्याएको थिएँ ।

“रिया,” मैले उसलाई बोलाएँ ।

उसले आइप्याडबाट आँखा नहटाई सोधी— “एस, ड्याड ?”

“यता आऊ त, तिम्रो हाइट नापौँ,” मेरो आवाज अलि काँप्यो ।

ऊ अनौठो मान्दै उभिई । मैले उसलाई हाम्रो अमेरिकी घरको सेतो, सुक्खा ड्राई–वालको ढोकाको चौकोसमा उभ्याएँ । उसको टाउकोको तहमा मैले सिसाकलमले एउटा गाढा धर्सो तानेँ ।

रियाले पछाडि फर्केर त्यो धर्सो हेरी, “ह्वाट इज दिस, ड्याड ?” हाँस्दै अङ्ग्रेजीमा सोधी— “यो त भित्ता फोहोर भयो नि । अब ममी खुसी हुँदिनन् ।”

“यो फोहोर होइन, रिया,” मैले उसका साना र सफा हत्केलाहरू आफ्ना खस्रा हातमा लिँदै भनेँ, “यो तिम्रो सुरुवात हो । यो घरमा तिम्रो अस्तित्वको पहिलो रेखा हो । अब प्रत्येक वर्ष हामी यहाँ तिम्रो उचाइ नाप्नेछौँ ।”

रियाले मेरो कुरा कति बुझी, कति बुझिन, तर उसले मलाई अँगालो हाली । उसको साना हत्केलाको न्यानोपन मेरो छातीमा सरेर गयो ।

मैले झ्यालबाट बाहिर हेरेँ । बाहिर हेदरको ड्राइभ वेमा यार्ड सेलको साइन पन्छाइसकेको थियो । लन सुनसान थियो । कागजका कप र न्यापकिनका टुक्राहरू यत्रतत्र छरिएका थिए । लन उजाड देखिन्थ्यो । नेपालको हाम्रो घरआँगन पनि उजाडिएको थियो ।

एकै छिन गम्भीर भएर सोचेँ । मन बुझाउन मनैभित्र कुराका तानाबाना बुनेँ, ‘त्यो घरआँगन लालपुर्जाको कागजमा, नयाँ मान्छेको नाम लेखिए पनि, काठको चौकोस ढलाइए पनि, बाले सिसाकलमले कोरेका ती उचाइका धर्साहरू वास्तवमा ती काठमा मात्र सीमित थिएनन् । ती त मेरा मनका पत्रहरूमा छापिएका रहेछन् । मेरो नसाको रगतमा बगिरहेका रहेछन् । मेरो स्मरणमा नमेटिने भएर बसेका रहेछन्, जसलाई संसारको कुनै पनि मालपोत कार्यालय वा घर किन्ने साहूले मेट्न सक्ने थिएन ।’

मैले रियाको कपाल सुमसुम्याएँ । मलाई थाहा थियो, जराहरू काटिए पनि, नयाँ माटोमा नयाँ पालुवा पलाउन सक्छ । मैले आज यो विदेशी भित्तामा पहिलो धर्सो कोरेको थिएँ— एउटा नयाँ इतिहासको, एउटा नयाँ पर्खाइको, मेरो विगतजस्तै बलियो र जीवन्त हुने आशामा । बाहिरको चिसो हावा कोठामा सलबलायो । मलाई अचानक हाम्रै गाउँको तुलसीको बास्ना मिसिएको चिसो हावाले स्पर्श गरेझैँ भयो ।

Leave a Comment